खरदारको सम्पत्ति ५० करोड
जीपमा दस मिनेट लगाएर जनकपुरको केन्द्रविन्दु विद्यापति चोकसम्म पुग्दा सडक एक मिटर पनि पक्की थिएन । जबकि यो कालोपत्रे सडक हो । सडकका दुवैतिर फोहोर थुप्रिएका थिए । यस्तो लाग्थ्यो, नगरपालिकाका सरसफाइ कर्मचारी महिनौंदेखि बिदामा छन् ।
सहरलाई एयरपोर्ट जोड्ने यो मूलसडक मात्र होइन, रामजानकी मन्दिर र मुख्य बजारक्षेत्रका केही किलोमिटरबाहेक जम्मै सडकको हाल यस्तै । मूलसडकबाट दायाँबायाँ छिर्ने हो भने त सडक शौचालयमा बदलिएछ कि भन्ने भान पथ्र्यो ।
कुनै पनि सहरको समृद्धि र त्यहाँको प्रशासनिक व्यवस्था मूल्यांकन गर्नुछ भने सडक हेरे हुन्छ । धुलाम्मे र कच्ची सडकले सहरको गरिबी झल्काउँछ । कच्चीमा परिणत हुँदै गएका एकताकाका पक्की सडकले त्यहाँ व्याप्त भ्रष्टाचार र अव्यवस्था देखाउँछ । सडकलाई सहरको ऐना भनिएको त्यही भएर हो ।
थोत्रो जीप र जीर्ण सडकमा ऐतिहासिक धार्मिक नगरी जनकपुरको ऐना हेर्दै हामी होटल पुग्यौं । रिसेप्सनमा राखिएका राष्ट्रिय अखबारहरू यसो पल्टाएको, त्यस दिनका अधिकांश अखबारमा धनुषाको सडक निर्माणमा व्याप्त भ्रष्टाचारको खबर नै छापिएको थियो । राष्ट्रपति रामवरण यादवको गाउँ जाने सडक निर्माणमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख जिल्ला इन्जिनियरसहित जिविसका १६ कर्मचारीविरुद्ध मुद्दा दर्ता गरेको रहेछ ।
मुद्दा लागेकामध्ये जिविसका सह–लेखापाल जीवनाथ चौधरी एक हुन् ।
चौधरीले जिन्दगीमा ठूलै अभाव देखे । गरिबीबाट मुक्ति पाउन उनका बाबु मेनेजर चौधरी महोत्तरीको एउटा गाउँबाट जनकपुर छिरेका थिए, २०४२ सालमा । अस्पताल रोडमा एउटा सानो पसल थापेर गुजारा चलाउन थाले ।
दस वर्ष यसैगरी बित्यो ।
२०५२ सालतिर जीवनाथ कांग्रेसका स्थानीय नेता रामसरोज यादवको सम्पर्कमा आए । उनी यादवकै भनसुन लगाएर जिविसको खरदारमा नियुक्त भए । पहिलोचोटि साइकल चढेर जिविस छिरेका चौधरीले पछिल्ला १७ वर्षमा चमत्कार गरेका छन् । उनले प्रेस खोलेर जिविसका सम्पूर्ण सामग्री छपाए । ठेकेदारसँग मिलेर निर्माण कार्यमा भ्रष्टाचार गरे । मठाधीशहरूसँग मिलेर मठ मन्दिरको जग्गा कब्जा गरे । राजनीतिज्ञहरूको आशिर्वाद र संरक्षण पाएर क्लब खोले । गुन्डा पाले । बन्दुक पड्काए । धनी गुन्डा बने ।
अहिले चौधरीसँग कति सम्पत्ति छ भन्ने लेखाजोखा गर्न गाह्रो छ । सहरमा हालसालै बनेको आधुनिक होटल सीता प्यालेस, बजारको तीनतले घर, भन्सार नतिरेका चारवटा गाडी, सहरका महंगा ठाउँहरूमा आकर्षक घडेरीका मालिक हुन् उनी । उनीसँग एक अर्ब रुपैयाँभन्दा बढीको सम्पत्ति छ भनेर अड्कल काट्नेहरू जनकपुरमा थुप्रै छन् । जसलाई नमान्नेहरू पनि ५० करोडभन्दा कम छैन भन्नेमा सहमत हुन्छन् ।
जनकपुरको बसाइपछि एयरपोर्ट फर्कंदा मैले रिक्साचालक झल्लु दासलाई चौधरीको बारेमा सोधेको थिएँ ।
उनको जवाफ थियो, ‘के भन्ने हजुर, जिविसबाट खुब ढौवा कमायो । त्यो उसको होटल छ न सीता पैलेस, मठको जग्गा हडपेर बनाएको हो । ठूलो डन छ यहाँको ।’
उनले अगाडि भने, ‘त्यो सांसद छ न तक्ला... अँ सञ्जय साह, दुईजना पहिले खुब मिल्थे, तक्लाले ठेक्का लिने, अनि जीवनाथसँग मिलेर पैसा खाने । अहिले त उनीहरूको दुस्मनी भैगो पैसालाई लिएर ।’
चौधरीको ‘अस्वाभाविक’ प्रगतिको कथाबारे रिक्साचालक झल्लुसमेत बेखबर छैनन् भने सांसद, प्रहरी र प्रशासनलाई थाहा नहुने कुरै भएन । यति हुँदाहुँदै चौधरीलाई किन कसैले रोकेन ? किन कारबाही भएन ?
यो प्रश्नको उत्तर जनकपुर वा धनुषाको स्थानीय पृष्ठभूमिमा मात्र खोज्न सकिन्न । यसलाई राष्ट्रिय सन्दर्भमै हेरिनुपर्छ ।
२०६७ भदौ १९ गते संसद अधिधेशन चलिरहेको थियो । माओवादी नेता कृष्णबहादुर महराको सनसनीपूर्ण अडियो टेप सार्वजनिक भयो । टेपमा महराले कथित चिनियाँ व्यापारीसँग ५० करोड मागेको स्पष्टै सुनिन्थ्यो, माओवादी अध्यक्ष पुष्पकमल दहाललाई प्रधानमन्त्रीमा जिताउन ५० जना सांसद किन्ने उद्देश्यले । टेपमा सुनिएको कुरा अत्यन्त गम्भीर थियो । त्यो भ्रष्टाचार मात्र थिएन । महराले टेपको तुरुन्त खण्डन गरे । तर, प्रयोगशालामा स्वर जचाएर आफू निर्दोष भएको प्रमाणित गर्नबाट पन्छिए ।
त्यस्तो गम्भीर घटनाको संसदमा खासै विरोध भएन । कांग्रेस र एमालेका केही नेताले झारा टार्ने हिसाबले विरोध गरे पनि गम्भीर रूपमा कुरा उठाएनन् ।
किन ?
‘सबैले पैसा लिएका छन् कतै न कतैबाट,’ कांग्रेसका एक नेताले मलाई अथ्र्याए, ‘गएको चुनावमा भारतीय राजदूतले हाम्रा सभापतिलाई ‘के सहयोग गरौं गिरिजाबाबु’ भनेर सोधेका थिए । उहाँले ‘चुनावमा पैसा चाहिन्छ, १० करोड देऊ’ भन्नुभयो । सात करोड तुरुन्तै आयो, तीन करोड पछि ।’
विकासमाथि राजनीतिले संगठित रूपमा हमला गर्न थालेको अर्को प्रसंग पनि छ । २०६७ चैततिरको कुरा हो । गोरखा जिल्लामा एनेकपा माओवादीको भ्रातृ संगठन वाइसिएलले २० करोड रुपैयाँ लागतको स्थानीय सडक निर्माण ठेक्कामा धावा बोलेको थियो । वाइसिएल गोरखा जिल्ला सचिव चुडामणि
खड्काको नेतृत्वमा उनीहरूले आफूसँग साँठगाँठ भएको एकजना ठेकेदारलाई मात्र टेन्डर भर्न दिए । अरूलाई टेन्डर स्थलबाटै धपाए ।
मैले घटनाको विरोध गर्दै माओवादी उपाध्यक्ष बाबुराम भट्टराईका नाममा रिपब्लिका दैनिकमा सार्वजनिक पत्र लेखेँ । भेटमा भट्टराईले मसँग भने, ‘हाम्रो राजनीति नै फोहोर छ, नेतृत्वमा नपुगी यस्तो कुरा सुधार्न सकिन्न ।’
त्यसताका उनी प्रधानमन्त्रीका तीव्र आकांक्षी थिए । हिसिला यमीले मलाई एसएमएस पठाइन्, ‘हामीलाई सचेत गराउनुभएकोमा धन्यवाद !
उनै बाबुराम र हिसिलाले बालुवाटार छिरेपछि के गरे, के गरेनन् जगजाहेर छ ।
जनकपुरका जीवनाथ राजनीति र कर्मचारीतन्त्रमा व्याप्त भ्रष्टाचारको सानो उदाहरण मात्र हुन् । मूल समस्या हो, सत्ताको आडमा गरिने भ्रष्टाचार । नेपाली समाजको अविकास र अव्यवस्थाको मूल जड पनि यही हो ।
राणा शासन, पञ्चायत, कांग्रेस, एमाले र पछिल्लोचोटि माओवादी तथा मधेसी मोर्चाले सत्ताको आडमा कति भ्रष्टाचार गरे होलान् ? सत्तासीन व्यक्ति, तिनका आफन्त, उनीहरूसँग जोडिएका कर्मचारी, व्यापारीले कति भ्रष्टाचार गरे होलान् ? त्यो भ्रष्टाचारका कारण हाम्रा सडक, स्वास्थ्य चौकी, स्कुल र
हाम्रो समाज कति बिग्रियो होला ? हाम्रो विकास कति पछाडि धकेलियो होला ? अनि त्यसले झल्लु दासजस्ता तल्लो तप्काका नागरिकलाई कति पीडा पुगिरहेको होला ?
६१ वर्षे झल्लु दास ३१ वर्षदेखि जनकपुरका सडकमा रिक्सा चलाउँदै छन् । उनले पढेलेखेका छैनन् । छोरालाई पनि धेरै पढाउन सकेनन् । किताबकापी किनिदिन पैसा पुगेन । उनका छोराले पाँच कक्षामै स्कुल छाडे ।
‘छोरालाई रिक्साचालक बनाउन मन लागेन, बहुत दुःख हुन्छ, त्यसैले साउदी अरब पठाएँ,’ कच्ची सडकमा बेस्सरी रिक्साको प्याडल मारिरहेका झल्लुले सास फुलाउँदै भने ।
जनकपुरका सडक मात्र पक्की हुन्थे भने झल्लुको जीवन अलि सहज हुन्थ्यो ।
No comments:
Post a Comment