Wednesday, April 24, 2013

तीनटाउके भूत


तीनटाउके भूत

  • 4
     
     
    15
     
     
    0
     
     
    19
     
  • GET NEWS ALERTS

झरीले मक्किएको झ्याल खोलेर म तल बेँसीतिर हेर्छु । तरेली परेका डाँडाका नाकहरू जाँगर नलागी नलागी तुयेंल छिचोलेर चिहाइरहेका छन् । निकै पर एउटा सानो बस्ती टल्किरहेको छ । त्यही ठाउँमा, जहाँ ती डाँडाहरूले भिरालिएर गंगाको विशाल मैदानमा पुग्न हतारिएको एउटा खोलो भेट्छन् ।
मेरा हजुरबा त्यही घना जंगलका बीच साहु र भरियाहरूको लस्कर लिएर मट्टितेल, सलाई र नून लिन भारत पस्थे । ढाडमा डोको र निधारमा पसिनाले भिजेको नाम्लो भिरेर भरिया अगाडि बढ्थे, मुखबाट असजिलो सास फाल्दै । ढाडको भारी थेग्न उनीहरूको टाउको अगाडि निहुरिएको हुन्थ्येा अनि काँपिरहेका घुँडालाई टेको दिन हातमा एउटा लट्ठी । अक्करे भीरमा उनीहरू घस्रन्थे— तल कतै सुसाएको नदीबाट भयभीत हुँदै ।
म एउटा बालक । उनीहरू मलाई पसिनाले निथ्रुक्क चिप्लो ढाडमा बोक्थे । म उनीहरूको जीउ र जातको गन्ध सुँघ्थे –- कहिले लोग्नेमान्छे, कहिले स्वास्नीमान्छे । स्वास्नीमान्छे डरलाग्दी थिइ । उसको देब्रे आँखा पूरै सेतो थियो, जंगलमा छेस्का बिझेर । ऊ तल्लो जातकी, मलाई आफ्नो ढाडमा बोक्थी । म बाहुनको बच्चो । "काँठा," ऊ मलाई बोलाउँथी । “काँठा !” उसको पुर्ख्योली रिस कहिल्यै रित्तिदैनथ्यो । तैपनि ऊ काँठाहरूको पहिलो रोजाइ, ढाडमा एक मन भारी बोकेर टल्किने बस्तीसम्मको चार कोस सजिलै पूरा गर्न सक्थी ।
म मान्छेको बुई चढ्ने एउटा बच्चेा। गाउँको मेरो अनुभव, तल्ला जातका भरियाहरूको पसिनाको गन्धसँग मिसिएको थियेा । त्यस बखतसम्म जब म आफैँ हिँड्न सकिन -- पहिला टिनको छानाले गर्मीको घाम टल्काउने त्यो बस्तीसम्म, अनि त्यसपछि निकै परको बेँसीसम्म । अलकत्रा पग्लिएको एउटा सडक यी दुई बस्तीलाई जोड्न मरूभूमिमा सर्पजसरी तन्किएको थियेा । छहारी भेटाउन आतुर ।
०००
त्यस रात म एउटा क्षेत्रीको घरमा बास बस्न पुग्छु । गाउँबाट सबै बाहुनहरू निख्रिसकेका छन् । सपनामा एउटा बूढो मान्छेले मलाई लखेटिराखेको म देख्छु, मानौँ आकाशमा नदेखिने सडक छ । एउटा तीनटाउके जीव मलाई बचाउन खोजिरहेको छ । यसको अर्थ के हुन सक्छ ? म घोत्लिन थाल्छु । यो तीनटाउके जीवलाई मैले सबैभन्दा पहिले यहीँ भेटेको हुँ । सायद म त्यतिखेर सात वा आठ वर्षको हुँदो हुँ ।
 जब मेरा बालाई सरकारी जागिरबाट दुईमहिने छुट्टी मिल्यो तब हामी फेरि एकपल्ट तरंगपुर फर्कियौं । त्यतिखेर मसँग भएका सबैभन्दा मूल्यवान् कुराहरू थिए सातवटा चंगा, दुई प्याकेट चकलेट र चार पोका ग्लुकोज बिस्कुट । सँधैझैँ हामी आएको खबर पाकेको आँपको सुवासझैं फैलियो र आधा घन्टाभित्रै हाम्रो घरको आँगनमा सिंगाने केटाकेटी माखाझैँ भन्कन थाले ।
 पहिला सबैलाई मैले दुईदुईवटा चकलेट बाँडे । सबैलाई बाँडिसकेपछि पनि चकलेटको प्याकेट आधामात्र रित्तिएकोमा म साह्रै खुशी भएँ । तर केटाकेटीहरू आँगनको डिलमै उभिरहे । उनीहरू बा र उनको साथमा रहेको दुईवटा टिनका ट्यांकामा एकरट लगाएर, दयाको भीख माग्दै थिए । निकै बेरपछि शायद उनीहरूलाई लाग्यो, मेरो दया नजाग्ने भयो वा यसबारे मेरा बाले केही नगर्ने भए, अनि केटाकेटीहरू आफ्नो बाटो लागे ।
 खल्तीको चक्लेटको प्याकेटलाई सुमसुम्याउँदै म निकैबेर पेटीमै बसिरहेँ। तर जसलाई मैले कुरेको थिएँ, ऊ आएन । म आँगनको छेउमा गएँ र कटहरको रूखबीचबाट उसको घरतिर हेर्न थालें । उसको घर खोल्सापारि थियो, पँधेराको पारिपट्टि । खरको छानामुनि पेटीमा मैले सातआठजना मान्छे देखेँ, अनि उनीहरूबीच पल्टिराखेको एउटा आकृति । टाढाबाट मैले यसै हो भन्ने मेसो पाइनँ, तर संकेत राम्रो थिएन ।
 जब अँध्यारो छायो तब डांग्रे, ढुकुर र भंगेरा कोकोहोलो मच्चाउन थाले, कटहरको रूखमा बास बस्न तँछाडमछाड गर्दै । चराहरू रूखमा कतै बास बसेपछि अचानक शून्यता छायो, मसानसरह । अन्धकार डरलाग्दो बन्यो । त्यसदिन ऊ आउला भन्ने आश मारिदिएँ ।
 भोलिपल्ट बिहान बाले मलाई पारि नैया गाउँ लिएर जानुभयो । बाटामा केही घर र गोठहरू । न्यार्बा गुन्द्रीमा पल्टिरहेका थिए, माखा शरीरभरि । केही माखा उनको नाकका प्वालमा छिरेका थिए भने केही आँखाको कुनाबाट रस तानिरहेका । छिनछिनमा न्यार्बा हातको कमजोर हल्लाइले हम्किन खोज्थे, तर उनीहरू के टेर्थे र ! तुरून्तै नाकभित्र तारो हानिहाल्थे ।
 "न्यारदाइ, म," चिथ्रो गुन्द्रीको छेउमा बस्दै मेरा बाले भन्नुभयो । "चिन्नुभयो?"
 न्यार्बा हल्लिन खोजे । उनको शरीर इशारा गर्नपुग्ने गरी मात्र हल्लियो ।
 "कान्छाबाबु, हैन?" उनका ओठहरू काम्दै कमजोर मुस्कानमा परिणत भए ।
न्यार्बाका छोरा भीमे र बुहारी माटाको घरबाट बाहिर आए । भीमेको हातमा हुक्का थियो र बुहारीको हातमा बाट्दै गरेको बाबियो । न्यार्बा शायद अन्तिम सास फेर्दै थिए । मर्न लागेका मान्छे देख्दा मलाई वाक्वाकी लाग्थ्यो । मैले प्लास्टिकको झोलाबाट एक प्याकेट ग्लुकोज बिस्कुट झिकेँ र न्यारबाका काम्दै गरेका हातमा थमाइदिएँ । उनको हत्केला चाउरिएको थियो, एक हप्तासम्म दलिनमा अड्किएर ओइलाएको ग्यास बेलुनजस्तै । उनका हर्थुंगा र औँलाका नसा काला भैसकेका थिए ।
 न्यार्बाले मलाई देखे र उनका आँखा चम्किए । टाउको उठाउन खोजे अनि हात तन्काएर मेरो हात समाते । उनका हत्केला मरेको साँपजस्तो पटक्कै थिएनन् । बरू न्याना र नरम थिए । बूढाका ओठहरू एकपल्ट फेरि कामे । शायद उनी मलाई केही भन्न खोज्दै थिए । किन हो बाले मेरो हात समातेर तान्नुभयो, मानौँ न्यार्बाको हात साँच्चिकै सर्प थियो । न्यार्बाले आँखा चिम्लिए, कलेँटी परेका उनका नीला ओठहरू काम्न छाडे । आजसम्म पनि किन मेरा बाले त्यसो गर्नुभयो मैले ठम्याउन सकेको छैन ।
मैले बिस्कुट न्यार्बाको छेउमा गुन्द्रीमै राखिदिएँ, शायद उनले खान पाउलान् नपाउलान् । शायद उनका छोराबुहारीले ती बिस्कुट आफैँ लिएर जालान् । वा न्यार्बाले आफ्ना नातिनातिनालाई बाँड्लान् । अनि मैले सम्झेँ, ऊ खोइ त !
 कसैलाई सोध्नु अगावै मैले गोरे र दामलीलाई देखेँ, हिउँदले खंग्रिएका अग्ला घाँस पन्छाउँदै कान्लाबाट उक्लिरहेका । दामलीले एक डालो तरुल पेटीमा बिसाई । गोरेले परै उभिएर म र मेरा बालाई एकटक हेरिरह्यो ।
"न्यारदाइलाई के भएको छ?" बाले भीमेलाई सोध्नुभयो । बाको संसारमा गोरे र दामली अस्तित्वमा आइसकेका थिएनन् ।
 "खै," भीमेले भन्यो । "बुढ्यौली होला ।"
  "अनि डाक्टरकहाँ लग्यौ त?"
 "दिमारपुरमा पुर्‍याएका थियौँ, अघिल्लो महिना हो क्यार ।"
  "अनि के भन्यो त डाक्टरले ?"
   "केही भन्न सकिन्न ।"
   "अनि के के हुन्छ त न्यारदाइलाई ?" अबचाहिँ मेरा बा आफैँ डाक्टर बन्न तम्सिनुभयो ।
   "खै । रिंगाउँछ भन्नुहुन्छ । अनि राम्रो देख्नुहुन्न रे ।"
   "प्रेसर हुनसक्छ," बाले भन्नुभयो । "प्रेसरको औषधी त मसँग पनि थियो ।"
  "हैन, हैन," भीमेले भन्यो । "बुढ्यौली हो, डाक्टरले भन्या । केही गर्न मिल्दैन रे ।"
 केही गर्न मिल्दैन । भीमेले न्यार्बालाई डोकोमा हालेर बतासेडाँडाबाट खसालिरहेको मैले सम्झें । स्कुलमा हामीले पढ्ने कथामा त्यस्तै एउटा गाउँ थियो, जहाँ बूढाहरूलाई भीरबाट फाल्ने चलन थियो । मेरो कल्पनामा बतासेडाँडा नै त्यो भीर हो भन्ने परेको थियो ।
 एकपल्ट मैले साहिँलीआमाको भैँसी भीरबाट खसेर तल वनमा पल्टिएको देखेको थिएँ । करिब डेढसय हात तल भैँसी उत्तानो परेर लडेको थियो । चार खुट्टा भाँच्चिएका, अनि सुन्निएको सेतो भुँडी माटो र रगतले पोतिएको । भैँसीको पेट छुँदा नरम र न्यानो हुन्छ । नरम रौँमा टाँसिएका गोबरका सुकेका टुक्रा बिझाउँछन् । तैपनि हातले पेटको छालामा छुँदा काउकुती लागेर आउँछ, केटीको जीउ छुँदा जस्तै । भैँसीको पेट छुँदा मर्न लागेको मान्छेको हात छोएको जस्तो हुँदैन ।
मैले न्यार्बाले भैँसीको भाँचिएका करङ ठीक बनाएको देखेको छु । एकदिन सबेरै आमाले मलाई साहिँलीआमाको घरमा नून लिन पठाउनु भयो । खोटो पोतिएको कालो ढोकामा भोटेताल्चा झुन्डिएको थियो । साहिँलीआमालाई मकैबारीमा मैले भेटिनँ, तरकारी बारीमा पनि उनी थिइनन् । आखिरमा गोठनजिकै मैले उनलाई फेला पारेँ, सुक्न लागेका मकैले छेकिएकी । भैँसी गोठमा बिछ्याइएको काठमा लडिरहेको थियो, गोबरमाथि । न्यार्बाले जडिबुटी जम्मा पारेर ल्याएका रहेछन् । उनले साहिंलीआमासँग हलेदो र चामलको पीठो मागे, अनि के के हो मिसाएर पिन्न थाले । साहिँलीआमा सामान लिन भान्छातिर लागिन्, अनि मैले मलाई पनि पिङ हाल्द्यौ भनेर कचकच गर्न थालेँ । न्यार्बाले मतिर अनौठो तरिकाले हेरे र भने, "मलाई फुर्सद छैन ।" दशैं नजिकै आउन लागिसकेको थियो र घर नजिकै मलाई पिङ चाहिएको थियो । "हल हल," उनले त्यसदिन पनि भने । तर मलाई थाहा थियो, त्यो उनको जिस्कने बानी थियो । उनी मलाई साह्रै माया गर्थे । मलाई हिलोमैलोमा खेलेको देख्न नचाहने न्यार्बा मेरा खेलौना र मनोरञ्जनका हरेक चाहनालाई हल हल भन्दै पुर्याइदिन्थे । साहिँलीआमा आएपछि न्यार्बाले औषधी बनाएर भैँसीको भाँचिएको करङ र खुट्टामा दलिदिए र सानो पोका उनलाई राख्न दिए । भैंसीको खुट्टामा काठको काम्रो बनाएर बलियोसँग बाँधिदिए । त्यसको भोलिपल्ट बाबियोको डोरी बाटेर धन्सारनेर न्यारबाले पिङ हालिदिए ।
केही दिनपछि बा र म फेरि न्यारबालाई भेट्न गयौँ । यसपल्ट उनी हलचल पनि गर्न नसक्ने अवस्थामा थिए ।
 "मलाई चिन्नुभयो ?” बाले न्यार्बाको दाहिने हात समातेर सोध्नुभयो । उनी टोलाएकोटोलायै थिए । होसको कुनै सङ्केत थिएन ।
"न्यार्बा भूत बन्न लागेको हो?" मैले सोधेँ ।
 "खै थाहा भएन," बाले भन्नुभयो । तर पक्कै पनि बालाई थाहा थियो । भीमलाल पाडो र रक्सी लिन गैसकेको थियो । गोरे र दामली कुनामा बसेर रोइरहेका थिए ।
 बाजेले अब भूत निकाल्न लागेका हुन् जस्तो छ, गोरेले भन्यो । हत्केलाले आँशु पुछ्दा मुखभरी धूलो लेसारिएको थियो ।
 न्यार्बाका आँखाको चमक हराइसकेको थियो । उनका आँखा पहेँलो झिल्लीले ढाकिएका थिए । अझै पनि उनका आँखा र नाकका प्वालमा झिँगाहरू खनिएका थिए, मैले अघिल्लो पटक देखेको भन्दा निकै धेरै । मैले धेरै बेर न्यार्बालाई हेर्न सकिनँ ।
 हामी घर फर्कंदै गर्दा गाउँलेहरू न्यारबाको घरतर्फ जाँदै थिए । न्यार्बा अब भूत बन्छन् रे भनेर सोच्दै थिएँ, उनको गोठनेर सुँगुरलाई छुन पुगेछु । मैले बातिर पुलुक्क हेरेँ । बाले थाहा पाउनु भएको रहेनछ, र मैले पनि कसैलाई सुँगुर छोएको भनिँन । नत्र घर छिर्नु अगाडि मैले कतिपल्ट नुहाउनु पर्ने थियो !
जब हामी घर पुग्यौं, बा र म पारि डाँडाका रूखहरू हेर्दै बस्यौँ । घाम ओझेल परेपछि, डाँडाका मौन आकृति चलमलाउँदै थिए—एउटा बडेमानको जुरो भएको ऊँट अनि उसलाइ डोर्याएर हिँडेको एउटा मान्छे । सिस्नेबेँसी जोतिएर उकाली लागेका डिँगा जसै गोठमा फर्कन थाले, मेरो क्यान्भासमा ताराहरू एक एक गर्दै छापिन थाले अनि डाँडाका आकृतिहरू पारि मन्द चाँदनीमा अड्किए, अर्धसजीव, अर्धमृत ।
पछि साँझमा भीमलालले पक्कै पनि एउटा पाडो र दुई ग्यालन रक्सी लिएर आएको हुनुपर्दछ । पेटीमा बसेर त्यस दिनको घटना सम्झँदै गर्दा पाडोको टीठलाग्दो चिच्याहटले साँझको निस्तब्धतालाई चिर्यो, अनि त्यसपछि एउटा ढ्वाङ्गले त्यो आर्तनादलाई बन्द गराइदियो । मलाई थाहा थियो त्यो रातभार गाउँलेहरू पाडोको मासु खानेछन् र रक्सी पिउनेछन् । यसको अर्थ थियो न्यार्बा अब रहेनन्, उनी अब भूताहा बेंसीमा कतै खाल्डोमा पुरिए । उनलाई जलाएको भए के बिग्रन्थ्यो र? म न्यार्बा अर्को एउटा भूत बनेको देख्न चाहन्नथेँ, तरंगपुरमा यसअघि नै प्रशस्त भूत थिए ।
०००
जब असार लाग्यो खेतको हिलोमा पौडी खेल्ने समय आयो । खेतका गह्रा हावामा बयेली खेलिरहेका बिउ ग्रहण गर्न तयार थिए, जुन भीमलालले रोप्थे फटाफट अनि दिन घर्कनुअघि नै हिलाम्मे खेतहरू हरिया बालीले लिपिएका हुन्थे थप आकाशे पानीको अपेक्षा गर्दै । आकाशमा बादल मडारिन थालेपछि दिनहरू लामा र धूमील हुन थाले । बादल छेक्थे उत्तरतिरका हिमाली भित्ता, जसले संसारभरिका आरोहीहरूलाई तानिरहेका हुन्थे । एउटा इटालियन, मेस्नर, जसले अन्नपूर्ण चढ्न खोजे, उनको गाला हिउँले खाएर कालो भयो । हामी उनको दाह्री हेर्न गयौँ, हप्तौं नकाटिएको, हिमाली देवताहरूको रहस्यमय हावाले छोएको । तर उनको कालो चस्मामा हामीले साना केटाकेटीमात्र देख्यौँ ।
फेरि दिनहरू छोटा हुँदै गए, आकाश अझ नीलो बन्न थाल्यो र बादल अझ सेता देखिन थाले, भर्खर धोएर सुकाइएका जस्ता । हाम्रो पूरै गाउँ चाडपर्वको लयमा नाच्न थाल्यो । यस्तै एउटा घमाइलो दिनमा पसिना र धूलोको अमिलो गन्हाउने स्कुलशिक्षकहरूले हामीलाई भिरालो घाँसे मैदानमा राखेर राजा महेन्द्रको पाठ घोक्न लगाए । आफूहरू भने भर्खरै मारिएको चौघडा: खान नजिकैको चियापसलमा गफ चुट्न थाले । रूखमुनि एक्लै, लामो ढाड कुप्राएर गोरे बसिरहेको थियो, कापीमा केही कोर्दै । यति राम्रो अक्षर भएको केटोको लागि जाँचमा सधैँ फेल हुनु विस्मयकारी थियो ।
"के लेख्दैछैा?" उसको काँध पछाडिबाट चियाएर मैले सोधेँ ।
गोरेले आफ्नो कापी बन्द गर्यो र सीधा उभियो । उसको व्यवहार अलि बाउँठो थियो, जुन म बुझ्न सक्दिनथेँ ।
"तिमी बुझ्दैनौ," उसले भन्यो ।
"पहिला देखाउन त देखाउ ।"
"तिमी बुझ्दैनौ क्या !" ऊ च्याँठ्ठियो ।
"किन?”
"किनभने तिमी धनीको छोरो ।" “ उसको स्वरमा निराशा झल्कन्थ्यो, जसले उसको मुहारलाई अझ गम्भीर बनाएको थियो । "गरिब कसरी बाँच्दछन् तिमीलाई के थाहा ।”
 "म कसरी धनी भएँ ?" मैले उसलाई सोधें । "हाम्रो घरमा कति दु:ख छ तिमीलाई के थाहा ?" हो उसलाई के थाहा? मेरी आमा एउटा जँड्याहा कर्मचारीकी दुलही । एकदिन गाउँ आउनु अघि घरमा बच्चालाई खान दिने केही नभएर तीन घण्टा हिँडेर पुगिन् देउरानीसँग ४० रूपियाँ सापटी माग्न । उनीसँग बस चढ्ने पैसापनि थिएन । देउरानीले सापटी दिइन् आँफैलाई धौधौ भएपनि । उनी सम्मान गर्थिन् मेरी आमाको हिम्मतलाई, जुन मेरा बाको जँड्याहापनको नतिजा थियो ।
"मलाई थाहा छ तिम्रो घर कस्तो छ," गोरेले भन्यो । “तिम्रा बा सरकारी जागिरे, तिमीहरू काठमाण्डूमा बस्ने ।”
"तर यसले के फरक पर्छ र ?" हामी साथी होइनौँ ।
 "फरक पर्छ," उसले भन्यो । म तल्लो जातको ।"
"तँ किन जैले पनि त्यही कुरा गर्छस् ? गर्मीमा हामी खेतमा सँगै पौडी खेलेको बिर्सिस् ?" म तँ तँ मा झरिसकेको थिएँ । भीमलालले खेतमा पानी भरेका थिए, एक फुट गहिरो । त्यही नै हाम्रा लागि काफी थियो ।
"फरक पर्छ," उसले भन्यो । तिमी र हामी फरक छौं । हामी कहिल्यै साथी बन्न सक्दैनौँ । देखेनौ, तिम्रा बाले मसभग कहिल्यै कुरापनि गर्दैनन् ।
"तर म त तेरेा साथी हुँ नि । भन् न के भयो ।”
"यो सबै तिमीहरूले गर्दा भएको हो," गोरेले भन्यो, "धनी बाहुनहरू ।"
"हैन ।" उसको हात तान्दै मैले भनें ।
  "हो," गोरेले मलाई दाहिने हातले पर धकेल्यो ।
"मलाई नधकेल् !" मलाई रिसको पारो चढ्न थालिसकेको थियो । “म तेरो साथी, बुझ्दैनस् ?”
"हैनौ," उसले भन्यो । "तिमी मेरो साथी हैनौ । तिमीहरू सबै उस्तै, हाम्रो बारे मतलब छैन ।"
 केही हप्तादेखि गोरेको बानीबेहोरा परिवर्तन भैराखेको थियो । ऊ ढिपी कस्थ्यो, र हाम्रो संवाद जहिले पनि झगडामा गएर टुंगिन्थ्यो । यसपल्ट मलाई पनि रिसको पारो चढ्यो र झर्किएर मैले लात हानेँ । उसको नलीहाडमा मेरो जुत्ताको टुप्पो बज्रियो ।
गोरे चिच्यायो र खुट्टा समातेर भुईंमा लडिबुडी गर्न थाल्यो । त्यो चिच्याहट अझैपनि मेरो कानमा गुन्जिन्छ ।
"ठिक्क पर्‍यो," मैले भनेँ । अनि फरक्क फर्केर कुलेलम ठोकेँ ।
म गाउँको एकमात्र केटो जो छालाको जुत्ता लगाएर हिँड्थ्यो । मेरा काला जुत्ताका अघिल्लो भाग खिइएर सेताम्मे भएको थियो । दाहिने जुत्ता कालोभन्दा बढी सेतो थियो । किनभने स्कुल जान उकालो चढ्दा बाटाका ससाना ढुंगालाई फुटबल बनाउने मेरो बानी थियो । ढुंगालाई लात हान्दा जस्तो हुन्छ, हड्डीमा हान्दा पनि त्यस्तै हुँदो रहेछ । खालि यसपल्ट मलाई पनि भित्र कतै गहिरोसँग दुख्यो । एउटा सम्मिश्रण दुखाइ, रिस र पश्चात्तापको ।
त्यो साँझ मैले पचभैया देखेँ ।
हाम्रो गाउँको छेवैमा, दुईचार कान्लामुनि एउटा वन छ । बेँसी झर्ने बाटो यसै वनभित्र हराउँछ । त्यही ठाउँबाट मैले एउटा सेतो जीव देखे । त्यो कुकुरमा सवार थियो । यो आमाले वर्णन गरेजस्तो थिएन । यो मानव पक्कै थिएन, किनभने यसका कान तीखा चुच्चा परेका थिए, अनि तिनवटा टाउका थिए । अनुहार न्यार्बाको जस्तै । त्यो जीव सीधा हाम्रै घरतिर आइरहेको थियो । यसलाई देख्ने बित्तिकै छातीमा ढ्यांग्रो ठोकिन थाल्यो र मुटु ढक्क फुलेर आयो ।
म घर पुग्दा पिँढीमा न्यानो थेगेका चिथ्रा गुन्द्री र थर्कटी बेरिएर बास बस्न भित्र पसिसकेका थिए । म घरभित्र भागें अनि आमाको काखमा गएर धोतीको सप्कोमा लुकेँ । आमा अगेनामा ढुंग्रोले आगो फुक्दै हुनुहुन्थ्यो, भात पकाउन । मैले आमालाई पचभैयाका बारे केही पनि भनिन । यसको नाम लिन पनि मलाई डर लागिरहेको थियो किनभने यसको नाम लियो भने येा घरको तगारो नाघेर मझेरीसम्म आउन सक्थ्येा र बच्चाहरूलाई लान्थ्यो । नत्र यो तगारो बाहिर नै हिँड्थ्यो ।
त्यस साँझ आमालाई धन्दा सक्न निकै समय लाग्यो । त्यसपछि फेरि मेरी आमाले त्यो पिरो धमिलो लाल्टिन बोक्नुभयो र मलाई एक्लै अँध्यारो बिछ्यौनामा छोडेर थान्कोमान्को गर्न लाग्नुभयो । मेरा बा र दाजु सँधैझैँ बाहिर नै हुनुहुन्थ्यो । घरमा म र आमामात्र । आमासँगै लागे चलपल छाया, केही थकित भित्तामा कोत्रिएका, केही भुईँमा लमतन्न लत्रिएका । डरले म निथ्रुक्क भिजिसकेको थिएँ । हलुका सास फेर्दै म आमालाई कुर्न थालेँ । निकैबेर पछि आमा ठूलो छाया बनेर हल्लँदै आउनुभयो र लाल्टिनलाई सन्दुकमाथि राख्नुभयो । जब भित्ता र दलिनका छाया सल्बलाउन छाडे र आमा मेरो छेवैमा आएर बस्नुभयो म निदाउन सकें ।

बुढा मान्छे अर्थात त्यो रुखको जरा


बुढा मान्छे अर्थात त्यो रुखको जरा

  • 153
     
     
    75
     
     
    0
     
     
    228
     
  • GET NEWS ALERTS

झ्यालबाट बाहिर चिहाउँदा जून बादलहरूबीच कतै लुकेको थियो । आकाश गड्गडाउँदै थियो, तर्याकतुरुक पानी छिट्याउन थालेको थियो । रातको गहिराइसँगै मौसम चिसिँदै गएको थियो ।
कोठाको तापक्रम घट्दै थियो । अघि खाना खाएपछिको हप्प गर्मी थिएन । अरू दिन भए यतिखेर म फुसफुसी निदाइसकेको हुन्थेँ । सपनालोकमा गोता खाइरहेको हुन्थेँ होला !
अहिले भने आँखामा पटक्कै निद्रा छैन । जूनजसरी नै मस्तिष्कको कुनै कुनामा लुकेको छ निद्रा सायद, आँखाका कोशहरूसम्म आउन मानेको छैन ।
मध्यरात कटिसकेको हुनुपर्छ ।
मैले पर्दा पन्छाएँ र ओछ्यानबाटै बाहिरको अँध्यारोमा आँखा गाढ्न थालेँ । कतै अघिका बुढा मान्छे मेरै घरअगाडि आइपुगेका त छैनन् ?
घर सामुन्नेको बाटोमा केही मान्छे सर्याकसुरुक गर्दै थिए । केही बोल्दै पनि थिए ।
ती बुढाको आवाज यति चर्को छैन । उनी त सुस्तरी बोल्छन् । कुनै गहिरो खाडलबाट निस्केजसरी उनकै घाँटीका भित्ताहरूमा ठोक्किँदै बाहिर निस्कँदा आवाजको रूप बेग्लै हुन्छ । रातको अँध्यारोमा उनले टेक्ने लट्ठीको आवाज पनि टक्टक् गर्दै निकै टाढासम्म सुनिँदो हो ।
बाहिरै गएर एकचोटि हेरुँ कि भन्ने मनमा आयो । ओछ्यानबाट निस्कन जाँगर चलेन । बाहिरसम्म पुग्न तीनवटा ढोका खोल्नुपर्छ । ओछ्यानबाटै यति राम्ररी जूनको अँध्यारो देखिइरहेको छ भने किन बाहिरसम्म पुग्ने झन्झट गरिरहुँ !
कोठाबाहिर दुइटा बाइक थिए, पातलो ओढ्नेले ढाकेका । बाहिर हल्ला गर्ने को रहेछन् भनेर कम्पाउन्ड नाघेर आँखा दौडाएँ ।
अँध्यारो र त्यसले जन्माएको शान्तिबाहेक खासै केही देखिएन ।
रुखका पातहरू सुस्तरी फर्फराइरहेका थिए । ससाना बिरुवा हल्लिरहेका थिए । अघिको सर्याकसुरुक अहिले सुनिएन । कोही बोलेको आवाज पनि अहिले सुनिन छाड्यो ।
बाहिर एक फन्को मारेर मेरा नजर कम्पाउन्डभित्र छिरे । प्लास्टिक ओढेका दुवै बाइक हलुका चल्मलाएजस्तो लाग्यो । मुटु ढक्क भयो ।
बाइकभित्र केही लुकेको त छैन ? बिरालो वा कुकुर ?
कोही मान्छे नै त लुकेको छैन ? चोर वा अरू नै कोही ?
एकछिन आँखा गाढेर हेरेँ, बाइक चल्मलाएका थिएनन् । बाइकले ओढेका प्लास्टिकमात्र फर्फर् गरिरहेका थिए । नजरको भ्रममात्र रहेछ भनेर ढुक्कको लामो सास फेरेँ ।
झ्यालका पर्दा लगाएँ र ओछ्यानमा पल्टेँ ।
मनमा त्यही बुढा आइरहेका छन्, यहीं आँखाअगाडि नै छन् जसरी । मेरो हृदय हल्लाइरहेका छन् । मस्तिष्कमा पनि ट्वाकट्वाक हानिरहेका छन् ।
भन्दै थिए, ‘काठमान्डुमा भ्रममा बाँच्छ बाबु, अप्राकृतिकतामा बाँच्छ ।’
मैले के जवाफ दिनु ?
उनको कुराको कुनै छेउटुप्पो थिएन । म त खालि सुनिरहेको थिएँ ।
घर आएपछि पो बल्ल तिनका भनाइ मेरो मनको भित्तामा बज्रिरहेका छन् ।
ड्वाङ ! ड्वाङ !! ड्वाङ !!!
...
साँझ घर फर्कंदै गर्दा साथीको फोन आयो, ‘कता हो ?’
मैले भनेँ, ‘यहीँ छु तीनकुनेमा । घर जाँदै छु ।’ साढे सात बजेको थियो ।
‘ह्या के जानु त यति चाँडै घर ? नयाँ बानेश्वर आऊ न, हामी यहीं बसिरहेका छौं, हल्का पार्टी चल्दै छ,’ साथीले उक्स्यायो ।
‘म त घर पुग्नै लागिसकेँ, आउँदिन यार आज,’ जान पनि मन थिएन ।
‘ल ल आऊ आऊ, बरु म बाइकमा लिन आऊँ ?’ साथीले के छाड्थ्यो !
‘तीनकुनेबाट नयाँ बानेश्वर त म हिँडेरै आउन सकिहाल्छु नि, तर मैले आज घरमा चाँडै आउँछु भन्या थिएँ... , ’ मैले भने ।
‘ल ल आऊ, एक घन्टामा हिँडिहाल्ने हो,’ साथीले निकै जोड ग¥यो ।
‘ल त ल, म आउँला । रामनवमीको दिन पनि केको पार्टी हो यिनीहरूको !’ म ठुस्किएँ र फोन राखिदिएँ ।
नौ बजिसक्दा पनि साथीहरूले उठ्ने छाँटै ल्याएनन् । क्वाटरका क्वाटर थपिरहे । आफ्नो कोटा त एक प्लेट भेज मोमो र एउटा रियल जुस खाएपछि पुगिहाल्यो । कति सुन्नु यिनीहरूका हावादारी गफ ! मलाई झिँझ्याट लाग्यो ।
भनेँ, ‘ल म चाहिँ हिँडे है अब ! तिमीहरूको लामो जालाजस्तो छ ।’
साथीले भन्यो, ‘बस न बस, हामी पनि अब उठिहाल्ने हो ।’ उनीहरूले भर्खरै नयाँ क्वाटर थपेका थिए ।
‘होइन, म जान्छु अब, तिमीहरु खाइसकेर उठे भयो नि त,’ मैले भनेँ र रेस्टुरेन्टको सोफाबाट उठेँ ।
‘ल त ल, कसरी जान्छौ त ? बाइकमा पुर्याइदिउँ ?’ साथीले ह्विस्कीको अर्को चुस्की मार्दै भन्यो । ऊ मस्त मातेको थियो । घर त कसरी पुग्ला भनेजस्तो मान्छे मलाई पुर्याइदिन्छु भन्दै थियो ।
म हाँसे र भनेँ, ‘पर्दैन, त्यहीँ त हो, हिँडेरै गइहाल्छु नि ।’
‘हो त ? ल त ल,’ साथीले भन्यो । म रेस्टुरेन्टबाट बाहिर निस्केँ ।
नयाँ बानेश्वर चोकमा बत्तीको झिलीमिली थियो । मोटरहरू दौडिरहेकै थिए । बाइकहरू बत्तिरहेकै थिए । फाट्टफुट्ट मानिस पनि हिँडिरहेका थिए ।
म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रअगाडि फराकिलो बनाएर धूलैधूलो उड्ने पारेको बाटो तीनकुनेतिर हिँड्दै थिएँ । बाटोमा खाल्टाखुल्टी थिए । तारहरू जताततै लत्रिएका । तिनलाई पन्छाउँदै म घर पुग्न ढिला हुने भयो भन्ठान्दै लुइँलुइँ पाइला लम्काइरहेको थिएँ ।
सम्मेलन केन्द्र कटिसकेपछि ट्रली बस कार्यालय अघिल्तिरका खाल्टाखुल्टी छलिँदै अघि बढ्दा मलाई पिसाबले च्याप्यो ।
हत्तेरी ! रेस्टुरेन्टमै गरेर आउनुपर्ने रहेछ । घर पुग्न अझै दस–बाह्र मिनट बाँकी थियो ।
बाटो नभत्काउँदा त ट्रली बसको कम्पाउन्डअगाडि झ्याङ थियो । खुला शौचालयजस्तै थियो त्यो । दिउँसै पनि त्यहाँ पिसाब गर्न असजिलो मान्दैन थिए बटुवा । रातिको त कुरै भएन !
अहिले त राजमार्ग फराकिलो पार्न भत्काएर छेउछाउका झ्याङ, यात्रु प्रतीक्षालय, रुखका ठुटाठुटी सबै हटाइएका छन् । मीनभवन यात्रु प्रतीक्षालय भएको ठाउँ पनि हिजोआज खुला छ । तैपनि राति त पिसाब गर्न के गाह्रो हुन्थ्यो !
बाटो फराक पार्ने क्रममा डोजरले माटो थुपारेको ठाउँतिर कुना लागेँ म । नवमीको जून बादलले छेकेको थियो । बादलकै कुनाकानीबाट निस्केको उज्यालोले भए पनि सडक निष्पट्ट अँध्यारो थिएन । तैपनि हिँड्दा होस पुर्याउनुपथ्र्यो ।
माटो थुपारेको ठाउँमा अलिकति खालि थियो । नजिकै एउटा रुखको जरा लडिरहेको रहेछ । त्यहीं पिसाब गर्ने सोच्दै म छेउमा पुगेँ ।
पिसाब गर्न ठीक्क परेको थिएँ, रुखको त्यो जरा चल्मलायो । मेरो सातो उड्यो ।
म टक्क अडिएँ । रुखको जरा चल्मलाएको कहिल्यै देखेको थिइनँ ।
त्यत्तिखेरै बादलबाट जूनको एउटा अंश निस्कियो र पृथिवी उज्यालो भयो । मीनभवन बसस्टपवरिपरिको जमिनमा पनि उज्यालो छरियो । मैले चल्मलाउँदै गरेको रुखको जरातिर हेरेँ । कुनै बुढो मान्छेजस्तो पो छ त्यो त !
निहुरिएर हेरेँ । एकजना बुढा मान्छे लुगाको पोको सिरानी लगाएर सुतेका रहेछन् । आडैमा बाँसको एउटा लौरो पनि थियो ।
मलाई लाज लाग्यो । पिसाब कता भाग्यो कता !
बुढा मान्छे सुतेकै होलान् भन्ने निश्चिन्त हुन भुइँमा टुसुक्क बसेर उनलाई हेरेँ । खोपिल्टो परेको अनुहारमा मैलो टोपीको ठ्याक्कै मुन्तिर उनका एक जोर आँखा जूनको उज्यालोमा टिलटिल टल्किरहेका थिए । मेरा आँखा बुढाका आँखासँग ठ्याक्कै जुधे ।
मेरो डर र लाज एकै ठाउँमा मिसियो । अनौठो संवेदना उठ्यो मनमा ।
मुखबाट अचानक निस्क्यो, ‘म त रुखको जरा भन्ठानेर... ।’
सुतेको ठाउँबाट बुढा मान्छे जुरुक्क उठे र हिँहिँहिँ गर्दै हाँस्न थाले ।
‘नत्र पिसाब नै गर्दिन लाग्नुभा’थ्यो ?’ बुढाको स्वर अनौठोसँग मसिनो तर स्पष्ट थियो ।
म लाजले पानीपानी भएँ । ‘सरी बाजे... अँध्यारोमा केही त देखिँदैन... ,’ मुखबाट लाजले भरिएको कमजोर आवाज निस्क्यो ।
बुढा मान्छे फेरि हिँहिँहिँ गर्दै हाँस्न थाले ।
‘तपाईं कहाँ सुत्नुभएको त यहाँ ? कतै छेउकुना लागेको भए हुन्थ्यो नि !’ मैले भनेँ ।
‘आजकाल यहाँ छेउकुना कहाँ छ र बाबु, सबै भत्काएका छन्, मेरो घर भन्नु यही मीनभवनको यात्रु प्रतीक्षालय थियो, राति यहीं सुत्थेँ, अहिले त्यो पनि भत्काइदिए... ,’ गहिरो इनारबाट निस्केजसरी बुढाको आवाज निस्क्यो ।
बुढाको आवाजमा दार्शनिक टोन थियो । उनको कुरा सुनेर मेरो मन द्रवित भयो । सँगै उत्सुकता पनि जाग्यो ।
‘तपाईंको कतै घर छैन ?’ मेरो हृदयको आर्द्र्ता पोखियो ।
बुढा मान्छे फेरि हिँहिँहिँ गर्दै हाँस्न थाले ।
‘किन हाँस्नुभयो ? मैले साँच्चिकै सोधेको !’ मैले भनेँ ।
‘के घर, के डेरा बाबु ! पृथिवी नै मेरो घर हो, यही डेरा हो । अहिलेलाई काठमाडौं नै मेरो घर हो,’ बुुढाका कुरा बुझिनसक्नु थिए । अलिअलि खुस्केका थिए कि !
‘कस्तो रुखको जराजसरी सुत्नुभएको त ?’
बुढा मान्छे फेरि हाँसे र भने, ‘म रुखको जरा नै हुँ बाबु ।’
रातको दस बज्न लागिसकेको थियो । मलाई घर पुग्न ढिला भइसकेको थियो । घरबाट फोनका फोन आइरहेका थिए ।
बुढा अलि सिल्लिएजस्तो लाग्यो ।
‘लौ त लौ, म जान्छु अब, तपाईं सुत्नुस् न त !’ म टुसुक्क बसेको ठाउँबाट उठेँ ।
‘तपाईंलाई मेरा कुरा मन परेनन् ? तपाईंले मेरा कुरा बुझ्नुभएन बाबु, हुन त यो सहरमा कसले कसका कुरा बुझ्छ र ?’ बुढा झनै दार्शनिक भएर निस्किए ।
‘कुरा बुझाउनु न त !’ मैले भनेँ ।
‘तपाईं झुक्किनुभएको होइन बाबु । म रुखको जरा नै हुँ, रुखको जराजसरी नै लडिरहेको थिएँ, तपाईं आउनुभयो, बल्ल मानिस भएँ,’ बुढाको स्वरमा अचम्मको मिठास थियो ।
कुरा भने केही बुझिएकै होइन !
‘अझै बुझ्नुभएन, होइन ? कसरी बुझ्नुहुन्थ्यो ! म रुखको जरा बन्ने प्रयत्न गर्दै छु बाबु, यो सहरमा मान्छे भएर बाँच्न सकिँदैन अब !’ बुढा सुस्तरी बोले ।
‘यो सहरमा मान्छे भएर बाँच्न सकिँदैन अब’ भन्ने लाइनले बिझायो ।
हुन पनि सहर कसरी विद्रुप र जड बन्दै गइरहेको छ हिजोआज !
बुढा बोल्दै थिए, ‘तपाईंले पिसाब नै गर्नुभएकै थियो भने पनि मलाई केही फरक पर्ने थिएन बाबु ! म रुखको जरा भएर लडिरहेको बेला कत्तिले पिसाब गरिसके मेरो कुना लागेर ।’
होला पनि ! बुढा अलिकति नचल्मलाएका भए मैले त पिसाब गरिदिने रहेछु ।
...
बाहिर फेरि आकाश चम्क्यो । गड्याङगुडुङ आवाजले मेरो सोचाइ बिथोलियो । बुढाकै बारे सोच्दासोच्दै कस्तो तन्द्रामा पुगेछु म त !
बुढाका कुरा सपना हुन् कि विपना– अझै ठम्याउन सकेको छैन ।
घडी हेरेँ– दुई बजिसकेको थियो । आँखा पोल्न थालेका थिए । बाहिर कुकुर भुक्दै थिए ।
झ्यालको पर्दा थोरै पन्छाएर हेरेँ, बाइकलाई ओढाइदिएको प्लास्टिक हावाले फरफर गर्दै थियो ।
...
आज बिहान मीनभवन बसस्टपकै बाटो अफिस आउँदा न हिजो राति भेटिएका बुढा त्यहाँ थिए, न कुनै रुखको जरा नै थियो ।
पाँच मिनेटजति मैले त्यहाँ वरिपरि हिजोका बुढा वा त्यो रुखको जरा खोजिरहेँ ।
सबै माटोका थुप्राथुप्री चहारेँ । केही भेटिएन ।
हिजो रातिको घटना मेरो कल्पनामात्रै थियो त ? वा कुनै सपना ?
मेरो दिमाग अहिले पनि चकराइरहेकै छ ।
 

राष्ट्रपतिको कु र भट्टराईको फु


राष्ट्रपतिको कु र भट्टराईको फु

  • 58
     
     
    11
     
     
    2
     
     
    72
     
  • GET NEWS ALERTS

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई मधेसी मोर्चाका मन्त्रीहरूसँग भन्ने गर्थे, यसो बुझिहेर्नुस् न शीतल निवास कति शीतल छ ? तात्तिरहेको पो छ कि ?
उनी आफैं भने राष्ट्रपति रामवरण यादवसँग धेरै खुल्दैनथे । त्यसो त उनी खास संवाद गर्ने स्वभावका नेता पनि होइनन् । त्यसमाथि कम बोल्ने बानीले उनी कसैसँग हित्तचित्त मिलाउन सक्थेनन् ।
गत मंसिर ७ को पुर्वसन्ध्यामा मन्त्री राजेन्द्र महतो शीतल निवास पुगे । राष्ट्रपति यादवले दिल खोलेर भनिदिए, के यो सरकार यत्तिकै बसिरहने सोच्दैछ ? चुनाव नगरी कसरी बस्न मिल्छ ? कहिलेसम्म बस्ने ?राष्ट्रपतिले शब्द नचपाई केही चेतावनी पनि थपिदिए, चुनाव गर्न नसक्ने सरकारलाई मैले टुलुटुलु हेरेर बसिरहन मिल्दैन ।
मन्त्री महतोले प्रधानमन्त्री भट्टराईलाई कुरा लगाइदिनु स्वाभाविकै थियो ।
त्यसपछि राष्ट्रपति यादव बनारस हिन्दु विश्वविद्यालयको दीक्षान्त समारोह हुदै नयाँ दिल्ली सवार भए । सवारी मन्त्रीका रुपमा महेन्द्र राय यादव थिए । राष्ट्रपति यादवले भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँग वार्तालापका क्रममा भनिदिए, सहमतिको सरकार गठनको पहल गरिरहेका छौं, दलहरू पनि खोजिरहेका छन्....।
राष्ट्रपतिको अभिव्यक्तिमा केही खालि ठाउँ देखेर प्रधानमन्त्री सिंहले सोधे, सहमतिमा कसले व्यवधान दिइरहेको छ त ?
राष्ट्रपति यादवले जवाफ दिए, प्रधानमन्त्री भट्टराईले ।
त्यो द्विपक्षीय भेटवार्तामा सरिक मन्त्री यादवले आफ्ना प्रधानमन्त्रीलाई रिपोर्ट गर्नु स्वाभाविक थियो । लगत्तै काठमाडौंमा भट्टराई गर्जिए, राष्ट्रपतिले दिल्ली पुगेर मेराविरुद्ध कुरा लगाए ।
राष्ट्रपतिले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग मिलेर कांग्रेस सभापति सुशील कोइरालाका नाममा सहमतीय सरकार बनाउने भनेर गरेको पहल भट्टराईका कारण असफल भएको बेला थियो त्यो । भट्टराई रारा ताल भ्रमणमा गएको दिन दाहालको अग्रसरतामा सहमतीय सरकारको समझदारी बनेको थियो र तीन शीर्ष नेताले राष्ट्रपतिलाई ब्रिफिङ गरेपछि शीतल निवासबााहिर निस्केर दाहालले पत्रकारहरूलाई भनिदिएका थिए, देश सहमतितिर गयो अब ।
भट्टराई राजधानी फर्किए । जानकार स्रोतहरूका अनुसार भोलिपल्ट बिहानै लाजिम्पाट पुगेर दाहालसँग जंगिदै भनिदिए, तपाईं सुशीललाई प्रधानमन्त्री बनाउन लाग्नोस्, म बन्न नदिन लाग्छु ।
राष्ट्रपति यादव र तत्कालीन प्रधानमन्त्री भट्टराईबीच हार्दिक सम्बन्ध थिएन । सिंहदरबार छाडेको एक महिनापछि भट्टराईले पत्रकार सम्मेलन गरी आफूविरुद्ध राष्ट्रपतिले चारपल्ट सत्ताविप्लव (कु देता) को प्रयास गरेको संगीन आरोप लगाए । साथै संविधानसभा निर्वाचनको ढिलाइमा समेत राष्ट्रपतिको भूमिका जिम्मेवार रहेको दाबी गरे ।
यसबाट यादव र भट्टराई राष्ट्राध्यक्ष र सरकार प्रमुखका रूपमा कस्तो सम्बन्ध रहेछ र डेढ वर्ष नेपालले दुई शीर्ष पदाधिकारीबीचको चिसो सम्बन्धबाट गुजारेको रहेछ भन्ने छर्लंग भएको छ ।
यादव र भट्टराईबीच यादव राष्ट्रपति बन्दादेखिकै धेरै राम्रो सम्बन्ध होइन । भट्टराईले नै हो माओवादीबाट रामराजाप्रसाद सिंहलाई राष्ट्रपति बनाउन बल गरेको । त्यसविपरीत कांग्रेस उम्मेदवार यादव विजयी भइदिए ।
पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा प्रधान सेनापतिबाट रुक्मांगत कट्वाललाई कारवाही गर्न मन्त्री भट्टराईकै सक्रिय भूमिका थियो भनेर दाहाल स्वयम्ले भन्ने गरेका छन् । मन्त्रिपरिषद्ले सेनापतिलाई बर्खास्तको निर्णय गर्यो भने राष्ट्रपतिले रोकिदिन्छन् भन्ने जानकारी पाएपछि मन्त्री भट्टराईले नेताहरूसँग भनेका थिए, ल हेरौंला राष्ट्रपतिले कसरी रोक्दा रहेछन् ?
राष्ट्रपतिले रोकिदिएपछि कु भयो भनेर भट्टराईसहित माओवादी नेताहरू चर्को प्रतिवादमा उत्रिए । राष्ट्रपतिलाई भेट्न बरु अध्यक्ष दाहाल जाने गर्थे र खुलस्त कुराकानी गर्थे, भट्टराईको भने त्यस्तो खासै सम्बन्ध देखिएन ।
संविधानसभा अवसानको बिहान पनि राष्ट्रपति यादवले शीतल निवासमा प्रधानमन्त्रीलाई भने, जे गर्ने हो चार शक्ति मिलेरै गर्नोस् है । त्यही वरिपरि उनले जनाउ दिइसकेका थिए, संविधानसभा रहेन भने तपाईं प्रधानमन्त्री पनि कामचलाउ मात्र रहनुहुनेछ नि ।
राष्ट्रपति कार्यालयले वक्तव्य जारी गरेर प्रधानमन्त्रीलाई पदमुक्त घोषणा गर्दै कामचलाउन मात्रै सरकार रहेको जनायो । त्यसबाट भट्टराई क्रुद्ध भए तर प्रतिक्रिया जनाइहालेनन् । केही अन्तरालपछि भने उनले मन्त्रिपरिषद् बैठकबाटै राष्ट्रपतिबाट भएका संविधानविपरीतका काम भनेर आफूलाई पदमुक्त भन्नु पनि रहेको औंल्याइदिए । त्यसबाट त दुई संस्थाबीचको सम्बन्ध झन चिसिन पुग्यो ।
राष्ट्रपतिले सहमतीय सरकार आवश्यक रहेको भनेर दलहरूलाई म्याद दिने सिलसिला थालेपछि त त्यो सम्बन्धको तापक्रम झन कम हुँदै गयो । त्यही क्रममा राष्ट्रपतिले सेनापति गौरवशम्शेर राणासँग चुनाव गराउन नसक्ने सरकारबारे केही निर्णय गर्नुपर्ला भन्ने विचार विमर्श गरे ।
स्रोतहरूका अनुसार सेनापति राणाले राष्ट्रपतिको धारणा प्रधानमन्त्री भट्टराईकहाँ पुर्याइदिए । राष्ट्रपति र प्रधानमन्त्रीबीच सोझै संवाद हुन छाडेर सेनापतिमार्फत खेल्ने अवस्था बनिसकेको थियो । भट्टराईले शुक्रबार पत्रकार सम्मेलनमा भनेअनुसार सेनापति राणाले राष्ट्रपति यादवको कदममा साथ दिन अस्वीकार गरेका थिए ।
शीतल निवास र सेनापतिबीच त्यसयता विश्वासको कमी रहन थालेको उच्च जानकार स्रोतहरूले बताउने गरेका छन् । भट्टराईले सार्वजनिक गरेको विवरणले त दुई पदाधिकारीबीच झन शंका बढाउने छ र जनताका दृष्टिमा पनि अपत्यार देखिने छ ।
जे भए पनि सेनापतिसँगका संवेदनशील छलफल सार्वजनिक गर्नु कमजोर चरित्र हो । साथै यस प्रकरणमा सेनापति राणाले आफ्नो दृष्टिकोण प्रष्ट गर्न जरुरी छ । राष्ट्रपतिसँगको सम्बन्धका लागि मात्र होइन, नेपाली सेनाकै गैर राजनीतिक चरित्रका लागि समेत ।  
राष्ट्रपति यादव खुला छलफल रुचाउँछन्, बेलाबेला झर्रो भाषामा प्रकट पनि हुने गर्छन् । कति मामिलामा त संकोची व्यवहार पनि गर्छन् । जस्तो भट्टराईलाई डेढ वर्ष सरकार चलाएकामा धन्यवाद दिँदै बिदाइको चिया सत्कार गर्नु राष्ट्राध्यक्षको स्वाभाविक भूमिका हुने थियो । पदमा हुँदाको तीतोमिठो बिर्सने गरी हार्दिकता बाँध्ने अवसर त्यस्ता क्षणमा बनाउन सकिन्छ । त्यस्तोमा उनी चुक्ने गर्छन् ।
राष्ट्रपति यादवले पाँच वर्षमा पाचौं प्रधानमन्त्रीलाई शपथ खुवाए र तीनजनाको मात्र राजीनामा स्वीकृत गरे । चौथा प्रधानमन्त्री अर्थात् भट्टराईले राजीनामा दिनै नपर्ने गरी विडम्बनापूर्ण तरिकाले संविधान संशोधन गरियो । जसले राजीनामै नदिई घर बसे, तिनैले राष्ट्रपतिलाई सबभन्दा कठोर लाञ्छना लगाएका छन् ।
सर्वोच्च स्तरमा व्यवहार गर्ने यस्ता पदाधिकारीले अर्कालाई आक्षेप लगाउनु राजनीतिक लाभका लागि पदीय प्रतिष्ठा विर्सनुमात्र हो । राजनीतिक लाभकै खातिर भट्टराईले सिंहदरबारबाट हटेको एक महिनापछि जिब्रोको तितो फालेका छन् । उनले आफू राष्ट्रपतिको षडयन्त्रबीच पनि सफल भएको सन्देश दिएर स्याबासी बटुल्न खोजेका होलान् । साथसाथै राष्ट्रपतिविरुद्ध उभिएर फु गरेपछि अरु विरोधीलाई त त्यसै राजनीतिक रूपमा ढाल्न सकुँला भन्ने सोचेका होलान् । तर यो उनको फु प्रकरणलाई स्वयम् उनकै पार्टीले आत्मसात गर्ने र शीतल निवासविरुद्ध उभिने सम्भावना छैन ।  
पहिलो प्रश्न, सत्ताबाट हटेको एक महिनापछि उनी किन राष्ट्रपतिविरुद्ध खनिए ? राष्ट्रपतिस“ग कार्यकारी अधिकार नभएको थाहा हु“दाहु“दै कसरी सत्ता अपदस्थ गर्न सक्थे ? सेनापतिलाई राष्ट्रपतिबाट फुत्काएर आफ्नो पक्षमा राख्न फकाइफुकाई गर्ने पनि षड्यन्त्र होइन ?
राष्ट्रपतिले कहिलेकाहीँ छुचो रुपमा भनेकै हुन्, सरकारमा भ्रष्टाचार छायो, चुनाव नगरी कहिलेसम्म बस्न मिल्छ ? सहमतिको सरकार नबनाई बजेट पारित गरिदिन्नँ । नेताहरू, मन्त्रीहरूलाई बोलाएर सम्झाउने र बेलाबेला तर्साउने समेत गरेको बुझिन्छ । तर ती त शीतल निवासभित्रका अनौपचारिक वार्तालाप र अन्तरंग हुन्, त्यसैलाई सत्ताविप्लवको षड्यन्त्र मान्न सकिँदैन ।
भट्टराईको राजनीतिक चिन्तनमा रहेको जडताकै समस्या हो यो । अन्य धारणा राख्नेहरूसँग सहअस्तित्वको भावना उनमा अझै विकास हुन सकेको देखिएन । राष्ट्रपतिले प्रश्न गर्दा वा चेतावनी दिँदा षडयन्त्र देख्ने क्रममा भट्टराईले आफ्नो असली चिन्तन प्रकट गरेका छन् । उनले भनेका छन्, राष्ट्रपति र सभाध्यक्ष समेत माओवादीबाट हुनुपर्छ, नत्र फेरि पनि संविधान बन्दैन ।
अर्थात् माओवादीलाई सत्ता चाहिने, संविधानसभा चाहिने र शीतल निवाससमेत चाहिने । तीनवटै अंगको नेतृत्व आफैंले गर्नुपर्ने । हुनतः शक्ति पृथकीकरण भन्ने सिद्धान्त माओवादमा हुँदैन । हेटौंडा महाधिवेशनबाट हथौडाको तालीले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएकै हो । त्यसकारण भट्टराईले जे भने आफ्नो सोचको तस्बिर खुलस्त पारिदिएका छन् । अरु विचार र राजनीतिक आस्था राख्नेहरूको पनि अस्तित्व यो देशमा छ भन्ने स्वीकार गर्न नसकेको छटपटी हो यो ।  
प्रश्न शीतल निवास कति शीतल वा तातो छ भन्ने होइन । प्रश्न हो, माओवादी नेताहरूको वैचारिक जडतामा सुधार आउने र सहअस्तित्वको राजनीतिक मूलधार कहिले स्वीकार गर्ने हो ।

खरदारको सम्पत्ति ५० करोड


खरदारको सम्पत्ति ५० करोड

  • 887
     
     
    227
     
     
    85
     
     
    1212
     
  • GET NEWS ALERTS

जनकपुर एयरपोर्ट छाड्नेबित्तिकै हामी चढेको जीपले उधुम मच्चायो । गाडी यति पुरानो रहेछ, कुनै पार्टपूर्जा सद्दे नाइँ । झ्याल–ढोकाका नटबोल्ट एकोहोरो चुइँकिन थाले । सिटहरू भुइँचालो जाँदा दराजटेबुल थर्केजस्तो डङडङ गर्दै कराउन थाले । 
 
जीपमा दस मिनेट लगाएर जनकपुरको केन्द्रविन्दु विद्यापति चोकसम्म पुग्दा सडक एक मिटर पनि पक्की थिएन । जबकि यो कालोपत्रे सडक हो । सडकका दुवैतिर फोहोर थुप्रिएका थिए । यस्तो लाग्थ्यो, नगरपालिकाका सरसफाइ कर्मचारी महिनौंदेखि बिदामा छन् ।
 
सहरलाई एयरपोर्ट जोड्ने यो मूलसडक मात्र होइन, रामजानकी मन्दिर र मुख्य बजारक्षेत्रका केही किलोमिटरबाहेक जम्मै सडकको हाल यस्तै । मूलसडकबाट दायाँबायाँ छिर्ने हो भने त सडक शौचालयमा बदलिएछ कि भन्ने भान पथ्र्यो ।
 
कुनै पनि सहरको समृद्धि र त्यहाँको प्रशासनिक व्यवस्था मूल्यांकन गर्नुछ भने सडक हेरे हुन्छ । धुलाम्मे र कच्ची सडकले सहरको गरिबी झल्काउँछ । कच्चीमा परिणत हुँदै गएका एकताकाका पक्की सडकले त्यहाँ व्याप्त भ्रष्टाचार र अव्यवस्था देखाउँछ । सडकलाई सहरको ऐना भनिएको त्यही भएर हो ।
 
थोत्रो जीप र जीर्ण सडकमा ऐतिहासिक धार्मिक नगरी जनकपुरको ऐना हेर्दै हामी होटल पुग्यौं । रिसेप्सनमा राखिएका राष्ट्रिय अखबारहरू यसो पल्टाएको, त्यस दिनका अधिकांश अखबारमा धनुषाको सडक निर्माणमा व्याप्त भ्रष्टाचारको खबर नै छापिएको थियो । राष्ट्रपति रामवरण यादवको गाउँ जाने सडक निर्माणमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख जिल्ला इन्जिनियरसहित जिविसका १६ कर्मचारीविरुद्ध मुद्दा दर्ता गरेको रहेछ ।
 
मुद्दा लागेकामध्ये जिविसका सह–लेखापाल जीवनाथ चौधरी एक हुन् ।
 
चौधरीले जिन्दगीमा ठूलै अभाव देखे । गरिबीबाट मुक्ति पाउन उनका बाबु मेनेजर चौधरी महोत्तरीको एउटा गाउँबाट जनकपुर छिरेका थिए, २०४२ सालमा । अस्पताल रोडमा एउटा सानो पसल थापेर गुजारा चलाउन थाले । 
दस वर्ष यसैगरी बित्यो ।
 
२०५२ सालतिर जीवनाथ कांग्रेसका स्थानीय नेता रामसरोज यादवको सम्पर्कमा आए । उनी यादवकै भनसुन लगाएर जिविसको खरदारमा नियुक्त भए । पहिलोचोटि साइकल चढेर जिविस छिरेका चौधरीले पछिल्ला १७ वर्षमा चमत्कार गरेका छन् । उनले प्रेस खोलेर जिविसका सम्पूर्ण सामग्री छपाए । ठेकेदारसँग मिलेर निर्माण कार्यमा भ्रष्टाचार गरे । मठाधीशहरूसँग मिलेर मठ मन्दिरको जग्गा कब्जा गरे । राजनीतिज्ञहरूको आशिर्वाद र संरक्षण पाएर क्लब खोले । गुन्डा पाले । बन्दुक पड्काए । धनी गुन्डा बने । 
 
अहिले चौधरीसँग कति सम्पत्ति छ भन्ने लेखाजोखा गर्न गाह्रो छ । सहरमा हालसालै बनेको आधुनिक होटल सीता प्यालेस, बजारको तीनतले घर, भन्सार नतिरेका चारवटा गाडी, सहरका महंगा ठाउँहरूमा आकर्षक घडेरीका मालिक हुन् उनी । उनीसँग एक अर्ब रुपैयाँभन्दा बढीको सम्पत्ति छ भनेर अड्कल काट्नेहरू जनकपुरमा थुप्रै छन् । जसलाई नमान्नेहरू पनि ५० करोडभन्दा कम छैन भन्नेमा सहमत हुन्छन् । 
 
जनकपुरको बसाइपछि एयरपोर्ट फर्कंदा मैले रिक्साचालक झल्लु दासलाई चौधरीको बारेमा सोधेको थिएँ । 
 
उनको जवाफ थियो, ‘के भन्ने हजुर, जिविसबाट खुब ढौवा कमायो । त्यो उसको होटल छ न सीता पैलेस, मठको जग्गा हडपेर बनाएको हो । ठूलो डन छ यहाँको ।’ 
 
उनले अगाडि भने, ‘त्यो सांसद छ न तक्ला... अँ सञ्जय साह, दुईजना पहिले खुब मिल्थे, तक्लाले ठेक्का लिने, अनि जीवनाथसँग मिलेर पैसा खाने । अहिले त उनीहरूको दुस्मनी भैगो पैसालाई लिएर ।’
 
चौधरीको ‘अस्वाभाविक’ प्रगतिको कथाबारे रिक्साचालक झल्लुसमेत बेखबर छैनन् भने सांसद, प्रहरी र प्रशासनलाई थाहा नहुने कुरै भएन । यति हुँदाहुँदै चौधरीलाई किन कसैले रोकेन ? किन कारबाही भएन ?
 
यो प्रश्नको उत्तर जनकपुर वा धनुषाको स्थानीय पृष्ठभूमिमा मात्र खोज्न सकिन्न । यसलाई राष्ट्रिय सन्दर्भमै हेरिनुपर्छ ।
 
२०६७ भदौ १९ गते संसद अधिधेशन चलिरहेको थियो । माओवादी नेता कृष्णबहादुर महराको सनसनीपूर्ण अडियो टेप सार्वजनिक भयो । टेपमा महराले कथित चिनियाँ व्यापारीसँग ५० करोड मागेको स्पष्टै सुनिन्थ्यो, माओवादी अध्यक्ष पुष्पकमल दहाललाई प्रधानमन्त्रीमा जिताउन ५० जना सांसद किन्ने उद्देश्यले । टेपमा सुनिएको कुरा अत्यन्त गम्भीर थियो । त्यो भ्रष्टाचार मात्र थिएन । महराले टेपको तुरुन्त खण्डन गरे । तर, प्रयोगशालामा स्वर जचाएर आफू निर्दोष भएको प्रमाणित गर्नबाट पन्छिए ।
 
त्यस्तो गम्भीर घटनाको संसदमा खासै विरोध भएन । कांग्रेस र एमालेका केही नेताले झारा टार्ने हिसाबले विरोध गरे पनि गम्भीर रूपमा कुरा उठाएनन् । 
 
किन ?
 
‘सबैले पैसा लिएका छन् कतै न कतैबाट,’ कांग्रेसका एक नेताले मलाई अथ्र्याए, ‘गएको चुनावमा भारतीय राजदूतले हाम्रा सभापतिलाई ‘के सहयोग गरौं गिरिजाबाबु’ भनेर सोधेका थिए । उहाँले ‘चुनावमा पैसा चाहिन्छ, १० करोड देऊ’ भन्नुभयो । सात करोड तुरुन्तै आयो, तीन करोड पछि ।’
 
विकासमाथि राजनीतिले संगठित रूपमा हमला गर्न थालेको अर्को प्रसंग पनि छ । २०६७ चैततिरको कुरा हो । गोरखा जिल्लामा एनेकपा माओवादीको भ्रातृ संगठन वाइसिएलले २० करोड रुपैयाँ लागतको स्थानीय सडक निर्माण ठेक्कामा धावा बोलेको थियो । वाइसिएल गोरखा जिल्ला सचिव चुडामणि
खड्काको नेतृत्वमा उनीहरूले आफूसँग साँठगाँठ भएको एकजना ठेकेदारलाई मात्र टेन्डर भर्न दिए । अरूलाई टेन्डर स्थलबाटै धपाए ।
 
मैले घटनाको विरोध गर्दै माओवादी उपाध्यक्ष बाबुराम भट्टराईका नाममा रिपब्लिका दैनिकमा सार्वजनिक पत्र लेखेँ । भेटमा भट्टराईले मसँग भने, ‘हाम्रो राजनीति नै फोहोर छ, नेतृत्वमा नपुगी यस्तो कुरा सुधार्न सकिन्न ।’
 
त्यसताका उनी प्रधानमन्त्रीका तीव्र आकांक्षी थिए । हिसिला यमीले मलाई एसएमएस पठाइन्, ‘हामीलाई सचेत गराउनुभएकोमा धन्यवाद ! 
 
उनै बाबुराम र हिसिलाले बालुवाटार छिरेपछि के गरे, के गरेनन् जगजाहेर छ ।
 
जनकपुरका जीवनाथ राजनीति र कर्मचारीतन्त्रमा व्याप्त भ्रष्टाचारको सानो उदाहरण मात्र हुन् । मूल समस्या हो, सत्ताको आडमा गरिने भ्रष्टाचार । नेपाली समाजको अविकास र अव्यवस्थाको मूल जड पनि यही हो ।
 
राणा शासन, पञ्चायत, कांग्रेस, एमाले र पछिल्लोचोटि माओवादी तथा मधेसी मोर्चाले सत्ताको आडमा कति भ्रष्टाचार गरे होलान् ? सत्तासीन व्यक्ति, तिनका आफन्त, उनीहरूसँग जोडिएका कर्मचारी, व्यापारीले कति भ्रष्टाचार गरे होलान् ? त्यो भ्रष्टाचारका कारण हाम्रा सडक, स्वास्थ्य चौकी, स्कुल र
हाम्रो समाज कति बिग्रियो होला ? हाम्रो विकास कति पछाडि धकेलियो होला ? अनि त्यसले झल्लु दासजस्ता तल्लो तप्काका नागरिकलाई कति पीडा पुगिरहेको होला ?
 
६१ वर्षे झल्लु दास ३१ वर्षदेखि जनकपुरका सडकमा रिक्सा चलाउँदै छन् । उनले पढेलेखेका छैनन् । छोरालाई पनि धेरै पढाउन सकेनन् । किताबकापी किनिदिन पैसा पुगेन । उनका छोराले पाँच कक्षामै स्कुल छाडे ।
 
‘छोरालाई रिक्साचालक बनाउन मन लागेन, बहुत दुःख हुन्छ, त्यसैले साउदी अरब पठाएँ,’ कच्ची सडकमा बेस्सरी रिक्साको प्याडल मारिरहेका झल्लुले सास फुलाउँदै भने । 
 
जनकपुरका सडक मात्र पक्की हुन्थे भने झल्लुको जीवन अलि सहज हुन्थ्यो ।