Thursday, May 30, 2013

काठमाडौं, १६ जेठ नेपाल पूर्वाधार विकास कम्पनीले चार वर्षभित्र काठमाडौं-कुलेखानी-हेटौंडा सुरुङ मार्ग निर्माण गर्ने र सन् २०१६ देखि त्यहाँबाट ओहोरदोहोर गर्ने गाडीमा घटीमा १ सय ८०.८ र बढीमा ४ हजार ५ सय २० रुपैयाँ (भ्याटसहित) शुल्क लिने भएको छ । कम्पनीले निर्माण, सञ्चालन र हस्तान्तरण (बुट प्रणाली) मा चार वर्षमा निर्माण गर्ने र ३० वर्ष सञ्चालन गर्ने सर्तमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसित सम्झौता गरी एक साताअघि अनुमतिपत्र लिएको हो ।
मन्त्रालयसित भएको सम्झौतामा कम्पनीले चार वर्षमा उक्त मार्ग निर्माण सम्पन्न गरेपछि बाटामा ढाट राखी त्यहाँबाट गुड्ने सबै गाडीमा ३० वर्षसम्म उठाउने बर्सेनि तोकिएको दरमा शुल्क बढाउँदै जान पाउने व्यवस्था गरिएको छ ।
सम्झौताअनुसार कम्पनीले ५५ किमि लामो चार लेनको उक्त मार्गमा पहिलो वर्ष मोटरसाइकल/ साइकलसित १ सय ८१, कार, जिप, भ्यानसित ९ सय ४, बससित २ हजार ३ सय ७३, मिनी बससित १४ सय १२.५, माइक्रो बससित १ हजार १ सय ३०, हेभी
(मल्टिएक्सल) ट्रक (३ एक्सल) सित ३ हजार २ सय २७ तथा ३ एक्सलभन्दा ठूलो ट्रकसित ४ हजार ५ सय २०, ट्रकसित २ हजार र ४ सय ८६ र मिनी ट्रकसित १ हजार ४ सय ६९ रुपैयाँ शुल्क उठाउने छ । उक्त मार्गमा विभिन्न खण्डको थोरै दूरीमा गुड्ने
गाडीको शुल्कसमेत सम्झौतामा तोकिएको छ । कम्पनीले उक्त मार्गमा गुड्ने गाडीमा सन् २०१७ देखि २०१९ सम्म बर्सेनि ३.५, सन् २०२० देखि २०२४ सम्म ५.५, सन् २०२६ देखि २०२९ सम्म ७.५, सन् २०३० देखि सन् २०३४ सम्म ८.५, सन् २०३५ देखि २०३९ सम्म ९.५ र सन् २०४० देखि २०४३ सम्म १०.५ प्रतिशतका दरले बढाएर शुल्क उठाउन पाउने सम्झौतामा उल्लेख छ । सन् २०४६ सालमा अर्थात् ३० वर्ष सञ्चालन गरी शुल्क उठाएपछि कम्पनीले पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालनमा निजी लगानीसम्बन्धी ऐनअनुसार उक्त मार्ग चालू हालतमा सरकारलाई बुझाउनुपर्ने छ । सम्झौताअनुसार कम्पनीले अनुमतिपत्र प्राप्त गरेको मितिदेखि परियोजना कार्यान्वयन सुरु गरी सन् २०१६ को डिसेम्बर अन्तमा निर्माण कार्य सम्पन्न गर्ने छ । सन् २०१६ लाई आधार वर्ष मानी गाडीको शुल्क निर्धारण गरिएको हो ।
पृथ्वी राजमार्ग हुँदै हेटौंडा पुग्न २ सय २३ किमिको सट्टा यो मार्गबाट ५८ किमिमा हेटौंडा पुगिने छ । काठमाडौंबाट निजगढ जोड्ने फास्टट्रयाक नबनी सुरुङ मार्ग मात्र बनेमा वर्षको ३० अर्ब रुपैयाँको बराबरको इन्धन बचत हुने छ । फास्टट्रयाक बन्यो भने यो मार्गबाट बर्सेनि १० देखि १२ अर्ब रुपैयाँ बचत हुने छ । कारबाट हेटौंडाबाट नारायणगढ हुँदै काठमाडौं आउनुभन्दा यो सुरुङमार्गबाट आउँदा हालको मूल्यमा इन्धन कम खपत कम भई ८ सय र हेभी ट्रकमा ३ हजार रुपैयाँसम्मको इन्धन बचत हुने जानकारी भौतिक पूर्वाधार मन्त्रालयका सचिव तुलसी सिटौलाले जानकारी दिए । उनका अनुसार ट्रकमा सुरुङमार्गबाट हेटौंडा जाँदा चार र कारमा तीन घन्टा समय बचत हुन्छ ।
समय र इन्धन दुवै ठूलो मात्रामा बचत हुने र निजी क्षेत्रले आफ्नै लगानीमा बनाउने हुनाले उसलाई ३० वर्षसम्म शुल्क उठाउन दिइएको जानकारी मन्त्रालयका अधिकारीले दिए । सम्झौतामा गाडीको शुल्कमा जतिका दरले हरेक वर्ष वृद्धि हुने प्रावधान राखिएको छ, त्यसअनुसार सन् २०४३ सम्म गाडीको शुल्क पाँच गुनाभन्दा बढीसम्म पुग्ने छ । वाषिर्क शुल्क वृद्धिका सम्बन्धमा सरकारले र कम्पनीले चाहेमा पूर्वाधार संरचना शुल्क पुनरावलोकन बोर्डको सिफारिसमा घटाउन या बढाउन सक्ने प्रावधानसमेत सम्झौतामा राखिएको छ ।
सम्झौताअनुसार सरकारले कम्पनीलाई सहुलियतस्वरूप निर्माणका क्रममा प्रयोग हुने उपकरणहरूमा १ प्रतिशत भन्सार लिई बाँकी भन्सार महसुल छुट दिने छ । बल्खुबाट बन्ने काठमाडांै-कुलेखानी-हेटौंडा मार्ग ५८ किमि हुने छ । उक्त मार्गमा प्रतिघन्टा सालाखाला ८० किमिका गतिमा गाडी गुडाउन सकिने सम्झौतामा उल्लेख छ । काठमाडौं-हेटौंडासम्मको ८० किमिको दूरीलाई ४.५ किलो
मिटरको सुरुङका कारण उक्त मार्ग २२ किमि छोटो हुन पुग्ने छ ।

स्ववियु निर्वाचन स्थगित

ठमाडौ, जेष्ठ १६ – त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा जेठ २३ मा हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ । फर्जी भर्नाको विषयमा विद्यार्थी संगठनहरुबीच कुरा नमिलेपछि त्रिविले बिहीबार निर्वाचन नै स्थगित गरेको हो ।
देशभरका क्याम्पसहरुमा कतै तालाबन्दी तथा कतै बिरोध प्रदर्शन भएपछि आजदेखि सुरु हुने भनिएको निर्वाचन कार्यतालिका नै प्रभावित भएको थियो । निर्वाचन कार्यतालिकामा आजलाई उम्मेदवारी मनोनयनको समय तोकिएको थियो । भर्नाका लागि तोकिएको अन्तिम दिन विभिन्न क्याम्पसमा विद्यार्थी संगठनहरुले ठूलो संख्यामा फर्जी विद्यार्थी भर्ना गराएपछि विवाद हुँदै आएको थियो ।
विश्वविद्यालयका उपकुलपपति, रेक्टर, रजिस्टार तथा विद्यार्थी संगठनहरुबीच भएको बैठकमा सहमति हुन नसकेपछि निर्वाचन रद्द भएको नेपाल विद्यार्थी संघका प्रवक्ता यूपी लामिछानेले जानकारी दिए । छलफलमा नेविसंघ, अनेरास्ववियु तथा एमाओवादी र नेकपा माओवादी निकट अखिल(क्रान्तिकारी) को सहभागिता रहेको थियो ।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक गंगाबहादुर थापा मगरले विवादका कारण सबै क्याम्पसका निर्वाचन समितिहरुमा तालाबन्दी गरिएपछि निर्वाचनको वातावरण बन्न नसकेको बताए । ‘आज विद्यार्थी संगठनहरुबीच विवाद मिलाउने कोशिस गर्यौ,’उनले भने ‘मिल्न नसकेपछि स्ववियु निर्वाचन स्थगित गर्नुपर्यो ।’ उनले आगामी दिनमा विद्यार्थी संघ/संगठनहरुबीचको थप छलफलपछि फेरि निर्वाचन तिथी तोकिने बताए ।

हत्केलाबाट तपाई आफ्नो भाग्य आफै पत्ता लगाउनु होस…

शास्त्रका अनुसार संसारमा जति पनि मानिसहरु जन्मिएका छन्, उसको भाग्य जरुर रहेको हुन्छ । उ कति सम्म भाग्यमानी छ, या दुर्भाग्यशाली छ भन्ने कुरा उसको भाग्य रेखामा निर्भर रहेको हुन्छ ।हत्केलाको बीचको औंलाको ठिक मुन्तिरा शनि पर्वत रहेको हुन्छ, यसैलाई नै भाग्य मान्दछ । हत्केलाको जुनसुकै स्थानबाट यस्तो रेखा सो स्थानमा पुगेको छ भने त्यसलाई नै भाग्य रेखा भनिन्छ । जसको नाडीबाट सिधै शनि पर्वत अर्थात बिचको औला पट्टि गएको हुन्छ त्यो व्यक्ति धेरै नै भाग्यशाली रहेको हुन्छ । यस्ता व्यक्ति धेरै नै महत्वकांक्षी र लक्ष्यप्रति केन्द्रित रहेको हुन्छ । शनि पर्वत तिर गएको रेखा चोरी औलाको मुनिपट्टि बाडियो अर्थात गुरु पर्वत यानी हुदै गयो भने सो व्यक्ति दानी एवम परोपकारी हुन्छ । उनले उच्च पद र प्रतिष्ठा प्राप्त गर्दछ ।
तर सर्त यो हो कि, यो रेखालाई अरु कुनै रेखा काटिएको हुनु हुदैंन । जुन स्थानमा भाग्य रेखा काटेको हुन्छ, जीवनको सोही समयमा त्यस व्यक्तिले संघर्ष र कष्टको सामना गर्नु पर्दछ । भाग्य रेखा लामो भएर बिचको कुनै बाटो बाहिर गयो भने परिश्रम गरेपनि सफलता भने कोसौं टाढा भईदिन्छ । बुढि औलाको मुनितिर जीवन रेखामा शुक्र पर्वत रहेको हुन्छ । हस्तरेखा विज्ञानका अनुसार, अब त्यस स्थानबाछ कुनै रेखा निक्लिएर शनि पर्वत पट्टि गयो भने विबाह पछि व्यक्तिको भाग्य उदय हुनेछ । यस्ता व्यक्तिले कुनै कलामा मध्यम प्रगति गर्दछ । तर उसको जीवनमा कुनै समय संकटको बादल मडारिएको हुन्छ किनकी भाग्य रेखा जिवन रेखालाई उछिन्नेर अघि बढेको छ ।
हत्केलाको मध्यममा मस्तिष्क रेखाबाट निक्लिएर कुनै रेखा शनि पर्वत गएको छ भने, त्यो धेरै उत्तम
हुन्छ । हस्तरेखा विज्ञानका अनुसार यस्ता व्यक्ति सामान्य परिवारमा जन्म लिएर पनि आफ्नो योग्यता र लगनशिलताले सफलताको शिखरमा पुग्दछ । शनि पर्वत पट्टि गएर रेखा दुई भागमा बाँढियो भने त्यो व्यक्ति धेरै नै उत्तम अर्थात फलदायी हुन्छ ।